अहिलेको जापानमा कृत्रिम रसायन र विषादी प्रयोग गर्ने सबैले आफूलाई कृषक भन्छन् । कसैले मेरो कामका बारेमा सोध्यो भने मेरो पेसा ‘कृषि’ हो भनेर म भन्दिनँ । म कीटनाशक विषादी र कृत्रिम रासायनिक मलरहित ‘प्रकृतिसम्मत खेतीपाती’ गर्ने किसान हुँ भनेर जवाफ फर्काउने गर्छु ।
अहिलेको कृषिमा खेतीको काम कम तर विषादी र कृत्रिम रासायनिक मलको प्रयोग बढी भइरहेको भान हुन्छ । हाम्रा उत्पादनहरू सबै लगभग एकैनासका हुने भएकाले हाम्रो खाना पनि कुनै कारखानाबाट निस्कने औद्योगिक उत्पादनजस्तै लाग्छ । खेतीपातीका काममा बाह्य प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएको हुनाले प्रकृति र बालीनालीको आफ्नै पुनरुत्पादन क्षमता अर्थात् जैविक शक्तिको महत्वलाई कतै हामीले बिर्सिसकेका त होइनौं भन्ने भान हुन्छ ।
संसार किन यस्तो भयो त ?
अत्यधिक मात्रामा कृत्रिम रसायन प्रयोग गर्नुको प्रमुख कारण भनेको बालीनालीमा रोग–कीरा लाग्नै नदिनु र यदि लागिहाले पनि उक्त रोग वा कीरालाई नष्ट गरेर यिनीहरूबाट हुने हानी–नोक्सानी घटाउनु तथा धेरै उपज भित्र्याउनु हो । अझ यति मात्र नभई यी उपजलाई राम्रो देखाउनु र उपभोक्तालाई धेरैभन्दा धेरै किन्न प्रेरित गर्नु पनि हो ।
यसरी उत्पादन भएका विषाक्त तरकारी र अन्नपातहरू हामी दैनिक रूपमा उपभोग गरिरहेका छौं । कीटनाशक विषादी र कृत्रिम रासायनिक मलको निरन्तर प्रयोगले मानिस र माटो मात्र नभई नदी र समुद्रका साथै सम्पूर्ण पृथ्वीसमेत प्रदूषित भइरहेको अवस्था छ ।
सन् २०११ अगस्टमा जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै प्रकारको बाह्य रसायनका गरेको प्रतिवेदनमा
कारण एलर्जीको मारमा परेको उल्लेख छ । यस्तो एलर्जीबाट बिरामी हुने मानिसहरूको
संख्या तीव्र रूपमा बढिरहेको छ ।
मलाई पनि लाग्छ, कीटनाशक विषादी र कृत्रिम रासायनिक मलमाथि विश्वास गरेर विकास गरिएको आजको कृषि व्यवसायले यस्तो रोगलाई बढावा दिएको छ । तसर्थ दैनिक उपभोग गर्दै आइरहेको विषाक्त खानालाई फेर्न जरुरी छ। त्यसका लागि खेतीपातीलाई नै फेर्नु पर्छ । खेतीपातीलाई फेरि पहिलेकै जस्तो प्राकृतिक बनाउन सकियो भने मात्र हामी सबैले सागसब्जी र अन्न खाँदा ढुक्क भएर खान पाइने छ ।
मैले आजभन्दा ३५ वर्ष पहिले नै कीटनाशक विषादी र कृत्रिम रासायनिक मलको प्रयोग गर्न छाडिसकेको थिएँ । केही समय कम्पोस्ट मल मात्र प्रयोग गरेँ तर २७ वर्ष भयो, त्यसको पनि प्रयोग गरेको छैन । सोही अवधिदेखि प्रकृतिका विरुद्ध संघर्ष हैन, सँगसँगै काम गर्ने संकल्प गरेको छु ।
म स्याउ खेती गर्ने किसान हुँ । खेतीलाई प्रकृतिसम्मत नबनाउँदासम्म स्याउको रुखलाई आक्रमण गर्ने कीरा र रोगजन्य जीवाणुलाई टाढै राख्ने युक्तिबारे सधैँ सोच्ने गर्थे । स्याउबारीमा जाँदा एक स्वार्थी व्यक्तिले झैँ आफ्नो स्वार्थलाई ध्यानमा राखेर स्याउका बोटहरूलाई नियालिरहेको हुन्थेँ । रोग र कीराबाट जोगाउँदै कसरी राम्रो, ठूलो र गुलियो स्याउ फलाउने होला भन्ने लालसाबाट प्रेरित भएर कीटनाशक विषादी र रासायनिक मलका मात्राहरू थपिरहन्थेँ ।
हो, विषादी र मलको चक्करमा लाग्दालाग्दै ’सबैभन्दा महत्वपूर्ण कुरा त स्याउको रुख भन्ने सत्यलाई मैले बुझेको थिइनँ । रुखको वरिपरिको माटो र माटामा रहेका अन्य जीवका बारेमा त मैले अलिकति पनि विचार गरेको थिइनँ । अहिले थाहा भयो, मुख्य कुरा स्याउको रुख नै हो अनि उक्त रुखलाई सघाउने फेदको माटो, घाँस र कीराहरू हुन् । मैले विस्तारै थाहा पाएँ, हामीले प्राकृतिक जीवनशक्तिको उपयोग गर्न सकेको खण्डमा प्राकृतिक रूपमै फलहरू फल्ने रहेछन् । त्यसपछि मलाई लाग्यो, ती रुखहरू सजिलैसँग हुर्कन सक्ने प्राकृतिक वातावरण बनाउन सकेमा अझै राम्रोसँग फलहरू फलाउन सकिने छ ।
यी कुराहरूको अनुभूति गर्न मैले ११ वर्ष खर्च गरेँ । यस अवधिमा मैले आफैँले गरेको खोज र अभ्यासबाट के थाहा पाएँ भने कीटनाशक विषादीको प्रयोगबाट बोटबिरुवाले भनै बढी रोग(कीराको शिकार हुनुपर्ने रहेछ र कृत्रिम रासायनिक मल प्रयोग गर्नाले त झनै बढी कीरा लाग्ने रहेछन् ।
यसै क्रममा मलाई रोगजन्य जीवाणु, कीरा र झारको पनि प्रतिरोधी क्षमता हुन्छ भन्ने थाहा भयो। रसायन र विषादीको प्रयोगले यी झन्झन् बलिया हुँदै जाने रहेछन् र यिनलाई मार्न अझै कडा कीटनाशक तथा झारनाशक विषादी प्रयोग गर्नुपर्ने अवस्था आउने रहेछ । अनि पछि हुँदै जाँदा यिनले समेत कुनै असर देखाउन नसक्ने भई रोग, कीरा र झारपातका कारण लागत झन्झन् बढ्दै जाने रहेछ ।
अहिले मेरो बारीमा ८०० स्याउका बोट छन् । यिनको उत्पादन लागत भनेको घरबाट बारीसम्म आवतजावत गर्न चाहिने गाडी र स्याउको रुखलाई रोग, कीरा र ढुसीले बिगार्न नपाओस् भनेर यिनमा प्रयोग गर्ने सिरका वा भेनेगर किन्न लाग्ने खर्च मात्रै हो ।
यसभन्दा अघिसम्म खेतीपातीका नाममा कीरा, रोग र झारपातहरूसँग निरन्तर संघर्ष गरेर प्रकृतिलाई विषाक्त बनाउन धेरै समय बिताइयो । अबको समय त्यो होइन । यिनका विरुद्ध संघर्ष नगरी पृथ्वीलाई नै प्रदुर्षणमुक्त बनाउने किसिमले खेतीपाती गर्ने समय हो ।
यो कुरा बताउन मैले जापानका धेरै ठाउँहरूमा यात्रा गरेको छु । यस यात्राको उद्देश्य कीटनाशक विषादी र कृत्रिम रासायनिक मलरहित ‘प्रकृतिसम्मत खेतीपाती’का बारेमा धेरैभन्दा धेरै मानिसहरूलाई अवगत गराउनु हो। यस अभियानलाई देशव्यापी रूपमा फैलाउन सके हरेक गाउँमा उज्यालो अनुहार र हँसिलो आवाज सुन्न पाइन्थ्यो भन्ने लाग्छ । यही आशामा जम्माजम्मी १६२.५ सेन्टिमिटर उचाइ र ४८ किलोग्राम तौल भएको मान्छे, म यस अभियानका लागि निस्केको हुँ ।
मलाई ‘किसान’ भन्दा पनि ’ह्याकु(सो’ भनिएको मन पर्छ । पहिलेका किसानहरू प्रकृतिसँग मिलेर काम गर्थे । आफ्नै हातले अन्न उब्जाउने ज्ञान र सीप उनीहरूमा थियो । म सायद अझै त्यो स्तरमा पुगिसकेको छैन तर मैले अहिलेसम्म सँगालेका प्रकृतिसम्मत खेतीपतीका केही अनुभवहरू यस पुस्तकका माध्यमबाट तपाईहरूमाझ बाँड्न चाहन्छु ।
साभारः पृथ्वी बचाउने खेतीपाती
सम्पादनः डा.कृष्णप्रसाद पौडेल
लेखकः ओकिनोरी किमुरा

प्रतिक्रिया दिनुहोस्