सुन्तलाजात फलफूलको फल छेड्ने र चुस्ने सुँडे मोथ(पुतली एक रात्रीचर पुतली हो । यसले बिभिन्न फलफूल बालीहरू जस्तै सुन्तलाजात फलफूल, अम्बा, मेवा, आँप, केरा, हलुवावेद, भुइँकटहर, साथै फल तरकारी गोलभेडा आदिमा क्षति पुयाउँदछ । नेपालमा सुन्तलाजात फलफूल बगैँचामा छिप्पिएका फलहरुमा यसको आक्रमण र नोक्सानी हाल चिन्ताको बिषय बनेको छ ।
जोशी र अधिकारी (सन् २०२४) अनुसार नेपालमा भ्गमयअष्mब वंशका आठ प्रजातिहरू रहेको उल्लेख छ । जसमा ई. होमाएना E-homaena Hübner), ई. हाइपरम्नेस्टूा E-hypermnestra Stoll, ई. माटेर्ना E-materna Linnaeus, ई. ओकुराइ E-okurai Okano, ई.फालोनिया E-phalonia Linnaeus, ई. सालामिनिया E- salaminia Cramer, ई. सिक्हिमेन्सिस E-tyrannus Guénée र ई. टाइरानस E-tyrannus Guénée रहेका छन् । यी प्रजातिहरू नेपालको कोशी, मधेश, बागमती र गण्डकी गरी चार प्रदेशका विभिन्न भौगोलिक तथा उचाई क्षेत्रहरूमा, समुद्री सतहबाट करिब ४५० देखि ३,५४० मिटर उचाईसम्म फैलिएका पाइन्छन् ।
फल छेड्ने र चुस्ने सुँडे मोथ(E-homaena Hübnerको वयस्क अवस्था
वयस्क पुतलीको पहिचान (Eudocima fullonia): वयस्क पुतलीको शरीर करिब ५ से.मि. लामो र पखेटा फैलाउँदा शरिरको चौडाई १० से.मि. सम्म हुन सक्छ । यसको अगाडिको शरीर खैरो र पछाडिको भाग पहेँलो–खैरो हुन्छ । अगाडिको पखेटा खैरो रङका हुन्छन् जसमा हरियो तथा सेतो थोप्लाहरू देखिन्छन् । पछाडिका पखेटा सुन्तला रङका, चौडा कालो चिन्ह तथा किनारामा कालो धर्सा भएको हुन्छ। यसको रातो पछाडिका पखेटामा रहेको विशिष्ट अल्पविराम (comma) आकारको कालो चिन्ह तथा कालो किनारा यस पुतलीको प्रमुख पहिचान हो ।
मोथ पुतलीको जीवनचक्रः पोथी पुतलीले आफ्नो पोषिता वनस्पति (कुलः मेनिस्परमासिया) को पातमा पहेंलो गोलाकार अण्डा पार्छ । अण्डा एक्लै वा धेरै संख्यामा समूहमा पार्न सक्दछ । करिब ३ दिनमा अण्डाबाट लार्भाहरु निस्कन्छन् । लार्भाले सामान्यतया ५ वटा अवस्थाहरू पार गर्दै करिब ३ हप्तापछि प्यूपा अवस्थामा जान्छन् । धेरै संख्यामा समूहमा रहेका लार्भाहरू गाढा खैरो देखि कालो देखिन्छन् भने एक्लै रहेका लार्भाहरू फिक्का पहेंलोदेखि हरियो रङका हुन सक्छन् । लार्भा पूर्ण विकसित भएपछि पातहरूलाई रेशमी धागोले जोडेर बनाएको कोषभित्र अचल प्युपा अवस्थामा जान्छन् ।
प्यूपा अवस्थामा करिब २–३ हप्तापछि वयस्क पुतली बाहिर निस्कन्छन् । वयस्कहरू निस्किएपछि केही दिन भित्र सम्भोग पश्चात् पोथीले अण्डा पार्न सुरु गर्छ । एउटा पोथी पुतलीले आफ्नो जीवनकालमा करिब ७५० वटासम्म अण्डा पार्न सक्छ र वयस्कको जीवनकाल करिब ३० दिन हुन्छ ।
फल छेड्ने र चुस्ने सुँडे मोथ(पुतली (Eudocima maternal) को विभिन्न अवस्थाहरू सहितको जीवनचक्र ।
क्षतिको प्रकृति:
नेपालमा पहाडी क्षेत्रका सुन्तलाजात फलफूल बगैचामा भदौ–असोज महिनामा वयस्क पुतलीहरु ठूलो संख्यामा देखा पर्छन्। फल छेड्ने र चुस्ने सुँडे मोथ–पुतलीको वयस्कले छिप्पिएका-पाकेका फलको रस चुसेर फलमा क्षति गर्ने गर्दछ ।
यसको लार्भाले गुर्जो (Tinospora cordifolia) का पात खान्छन् । मोथ पुतलीहरु पाकेका फलको गन्धबाट आकर्षित भएर बगैँचामा आउँछन् । विशेषगरी झरेका तथा पाकेका फलहरूमा बढी आकर्षित हुन्छन् । पुतलीले आफ्नो कडा र काँडायुक्त सुँड (proboscis) ले फलको बोक्रा छेड्छ । त्यसपछि फलको गुदीलाई खलबल्याएर रस चुसेर खान्छ ।
फलमा आक्रमण-क्षति भएको फलको बोक्रामा सुरुमा सियोले घोचेको जस्तो सानो गोलो प्वाल देखिन्छ । प्वाल वरिपरिको भाग पछि पहेँलो खैरो हुँदै जान्छ । क्षतिग्रस्त भाग नरम हुँदै जान्छ ।
फलको बोक्रामा नरम भएको भागमा ढुसी र ब्याक्टेरियाको द्वितीय संक्रमण हुन्छ । संक्रमित फललाई थिच्दा प्वालबाट दुर्गन्धित रस बाहिर निस्कन्छ । सूक्ष्मजीवको संक्रमणका कारण फलमा कुहिने समस्या हुन्छ। अन्ततः कीराले आक्रमण भएका फलहरू समय अगावै झर्ने गर्दछन ।
कीराले पारेको प्वाल वरपर गोलाकार तवरले कुहिँदै गएको फल फल छेड्ने र चुस्ने सुँडे मोथपुतलीको वयस्कले पुर्याएको क्षति
व्यवस्थापनका विधिहरुः
१.बगैचाको नियमित निरीक्षण तथा झरेका फलहरुको व्यवस्थापन÷सरसफाईः सुन्तलाजात फलफूल छिप्पिन थाले पश्चात् बिहान र बेलुका गरी दिनमा दुई पटक नियमित रुपमा बगैचाको निरीक्षण गर्नुपर्दछ । बगैचामा झरेका फलहरू नियमित रूपमा संकलन गरी प्लास्टिकको थैलोमा राखेर मुख राम्रोसँग बन्द गर्नपर्दछ वैकल्पिक रूपमा झरेका फलहरूलाई करिब १ फिट गहिरो खाल्डोमा पुरेर नष्ट गर्न सकिन्छ ।
२.वयस्क मोथ पुतलीको अनुगमन र नियन्त्रणः रातीको समयमा फल छेडेर चुस्दै गर्दा टर्चलाइटको उज्यालोमा यो पुतली प्रायः निष्क्रिय अवस्थामा रहने भएकाले सजिलै पहिचान गर्न सकिन्छ । भेटिएका पुतलीलाई समातेर नष्ट गर्नुपर्दछ । सबै बगैचा धनी कृषकहरू मिलेर सामूहिक कीरा नियन्त्रण अभियान सञ्चालन गर्नु उपयूक्त हुन्छ ।
३.धुँवाको प्रयोग गरि फल छेड्ने पुतली व्यवस्थापन ः बगैंचामा सुकेका पातपतिङ्गर वा घाँसपात जम्मा गरी जलाएर वा लामो लौरोमा पुराना सुती कपडा वा सुतरी बोराको टुक्राहरु बाँधेर धुँवा निकाल्न सकिन्छ । धुँवा निस्कने लौरा लिएर बगैंचामा घुमेर धुँवाउन सकिन्छ । यसरी धुँवाउदा फल छेड्ने पुतलीलाई बगैंचाबाट टाढा राख्न मद्दत गर्दछ ।
४.वैकल्पिक आहार वनस्पतिको अनुगमनः माउ मोथ पुतलीले वैकल्पिक आहार वनस्पतिको पातमा अण्डा पार्ने भएकाले यस्ता वनस्पतिको पहिचान र अनुगमन नियन्त्रणको महत्वपूर्ण आधार हो । गुर्जो, गिठा, भ्याकुर, कंसे लहरो, बाटुलपाते तथा अन्य जंगली वनस्पतिमा लाभ्रे हुर्कने सम्भावना हुन्छ । यस्ता वनस्पति सुन्तलाजात फलफूल बगैंचा, बगैंचाको आसपास तथा जंगल क्षेत्रमा पहिचान गरी अण्डा र लाभ्रे नष्ट गर्न सकिन्छ । यसबाट बगैंचामा आउने वयस्क मोथ पुतलीको स्रोत घटाउन सकिन्छ । हिउँदको चिसोपछि वयस्क निस्कन सुरु हुने भएकाले त्यस समयदेखि नै वयस्कको अनुगमन र लाभ्रे नियन्त्रणमा विशेष ध्यान दिनुपर्दछ ।
५.चर्को उज्यालो प्रकाशको प्रयोगः चर्को प्रकाशबाट सुँडे मोथ–पुतलीलाई विकर्षण गर्न सकिन्छ । यी पुतलीहरू साँझदेखि मध्यरातसम्म सक्रिय हुने भएकाले उक्त समयमा बगैँचामा चर्को प्रकाशको व्यवस्था गर्दा तिनीहरूको क्रियाकलाप घटाउन वा निष्क्रिय बनाउन सकिन्छ । प्रकाशमा पुतलीका आँखा रातो टल्किने भएकाले सजिलै पहिचान गरी मार्न पनि सकिन्छ ।
६.फल ढाक्ने प्रविधिः कागज वा प्लास्टिकले फल ढाक्ने प्रविधि विकसित देशहरूमा व्यापक रूपमा प्रयोग हुँदै आएको प्रभावकारी प्रविधि रहेको छ। यस प्रविधिबाट सुन्तलाजात फलफूलका फललाई सुँडे मोथ पुतली तथा अन्य फल छेड्ने र फलको रस चुस्ने कीराहरूको आक्रमणबाट सुरक्षित राख्न सकिन्छ । साथै, फलमा हुने प्रत्यक्ष क्षति कम गरी फलको गुणस्तर कायम राख्न पनि यसले सहयोग गर्दछ ।
७. नेट÷जालीको प्रयोगः नेट जालीले प्रत्येक बोट वा बगैँचालाई चारैतिरबाट ढाकेर पनि यो कीराबाट सुन्तलाजात फलफूल लाई जोगाउन सकिन्छ । तर यो विधि अत्यधिक खर्चिलो हुने भएकाले आर्थिक रूपमा प्रभावकारी नहुन सक्छ । त्यसैगरी, नेट÷जालीको प्रयोग गरी वयस्क कीरालाई पक्रेर नष्ट गर्न पनि सकिन्छ ।
८. चारोयुक्त पासोको प्रयोग ः
क. चारो तयार गर्ने तरिकाः राम्ररी पाकेको केरा वा अन्य फलफूल (१०० मि.लि. जुस) लाई १ लिटर पानीमा १०० ग्राम गुड वा सख्खर र १० मि.लि. मालाथियन ५० ई.सी. मिसाएर चारो तयार गर्नुपर्छ ।
ख. पासो राख्ने स्थानः तयार गरिएको चारोलाई प्लाष्टिकको जरकिनलाई चित्र नं. ५. मा देखाए जस्तै गरि पासो तयार गरि फलेका फलको उचाईमा झुण्ड्याउनुपर्छ । यसले सुँडे मोथ पुतलीलाई आकर्षित गरी विषाक्त चारो खान लगाउँछ र पुतली मर्छन् ।
ग. चारो परिवर्तन गर्नेः पासोमा राखिएको फलफूलको चारोलाई हरेक ३(४ दिनमा नयाँ चारोले परिवर्तन गर्नुपर्छ ।
घ. सावधानी अपनाउनेः विषाक्त चारो भएकाले चराचुरुङ्गी तथा अन्य जनावरले नखाने गरी पासो सुरक्षित स्थानमा राख्नुपर्छ ।
ङ. पुतलीको संख्या बढेमाः यदि दैनिक प्रति पासो २–३ भन्दा बढी सुँडे मोथ पुतली भेटिन थालेमा यसको प्रकोप बढेको संकेत मान्दै अन्य व्यवस्थापनका उपायहरू पनि अपनाउनुपर्छ ।
९.वानस्पतिक विषादी वा झोलमल वा नीमजन्य विषादीको प्रयोग गर्ने (घरमै तयार गर्न सकिने): वानस्पतिक बिषादी वा झोलमल वा नीमको रूखका पात, हरिया हाँगा र फलसहितका टुप्पोका भागहरू ४ केजी लिई १० लिटर पानीमा ३० मिनेटसम्म उमाल्ने। त्यसपछि तयार भएको मिश्रणलाई मलमलको कपडाले छानेर नीमको झोल तयार गर्ने । तयार भएको झोललाई तोकिएको मात्राअनुसार बालीमा छर्कन प्रयोग गर्ने ।
प्रयोगको मात्राः घरमै तयार गरिएको नीमको झोल १२ मि.लि. प्रति लिटर पानीका दरले छर्कने ।
१०.रासायनक विषादीको प्रयोग गर्नेः कीराको प्रकोप देखिएमा १ लिटर पानीमा २ मि.लि. साइपरमेथ्रिन मिसाई राम्रोसँग घोलेर बोटका पात, हाँगा र फलमा समान रूपमा पर्ने गरी छर्कनुहोस् । विषादी बिहान वा साँझको समयमा छर्कनु उपयुक्त हुन्छ । तोकिएको मात्रा भन्दा बढी विषादी प्रयोग नगर्नुहोस् र छर्कँदा मास्क, पञ्जा तथा सुरक्षात्मक कपडा प्रयोग गर्नुहोस् । साथै, उत्पादनको लेबलमा उल्लेख गरिएको पर्खने अवधि (PHI) पूरा भएपछि मात्र फल टिपेर खानुहोस् । यस कीराको नियन्त्रणका लागि प्रभावकारी र सन्तोषजनक रासायनिक नियन्त्रण विधि हालसम्म उपलब्ध छैन ।
कीरा व्यवस्थापनका लागि कीराको जीवन चक्रका अवस्थाहरु अनुसार उपलब्ध हुने विधिहरु एकीकृत रुपमा अवलम्वन गर्नु पर्दछ ।
सिुन्तलाजात फलफूलको फल छेड्ने र चुस्ने सुँडे मोथ पुतलीको व्यवस्थापन विधिहरु
लेखक: सन्दिप भट्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा स्नातकोत्तर (कीट विज्ञान) अध्ययनरत रहि फ्रूट पियरसिङ्ग मोथ कीरामा अनुसन्धान गरिरहनु भएको छ र लेखक डा. देवराज अधिकारी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, नवलपरासी (ब.सु.पूर्व.)मा वरिष्ठ कृषि अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्