काठमाडौं कार्तिक १०, सदाझैँ यसपाली नेपालीहरुको दोस्रो ठूलो चाड २०८३को तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार आगामी कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन सञ्चालन हुने छ ।
‘‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’’ भन्ने नाराका साथ जावलाखेल खेल मैदानमा प्रदर्शनी आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
गोदावरी फूलको व्यावसायिक उत्पादन, विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा कुल ८६ वटा स्टल रहनेछन् । तीमध्ये ७८ वटा व्यावसायिक, चारवटा अफिसियल, दुईवटा प्रतियोगितात्मक, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहने छ ।
पत्रकार सम्मेलनमा फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले आगामी दिनमा रैथाने फूललाई प्रवद्र्धन गर्नेगरी कार्यक्रम बनाएको बताउनु भयो । श्रेष्ठले नेपाली रैथाने फूलहरुको सम्भावना बढ्दै गरेको र वैदेशिक लगानी समेत भित्र्याउने योजना रहेको बताउनु भयो ।
प्रदर्शनीमा नेपालमै व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसमेत राखिनेछन् । आयोजक फ्यानका अनुसार ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीका लागि उपलब्ध हुनेछन् । गोदावरीका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत मौसमी फूल तथा विभिन्न आलंकारिक बोटबिरुवासमेत प्रदर्शनीमा राखिनेछन् ।
फ्लोरिकल्चरको मेला कामठमाडौं, पोखरा र इलाममा समेत यही कार्तिक १८ गते देखि प्रदर्शनीमा राखिने जनाएको छ ।
सरकारले अनुदान ऋण सहयोग गरेपनि विमाको व्यवस्था नभएको कारण केही जोखिमहरु मेलनु परेको बताउँदै फूल तथा नर्सरी व्यवसायमा लाग्ने किसानहरु कोही पनि डिप्रेसन र व्यवसाय नै छोडेर हिड्नु नपरेको बताउनु भयो ।
दुइलाख मखमली फूल निर्यात हुने र ४५ लाख सयपत्रीको माला खपत हुने बताउँदै बाँकी ५ लाख जति माला आयत गर्नु पर्ने पनि बताउनु भयो ।
गोदावरी फूलका पाँच प्रमुख विधा मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावरबीच प्रतिस्पर्धा गराइनेछ । यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको छ । प्रतियोगितामा उत्कृष्ट स्टल तथा विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने नर्सरी र फर्मलाई सिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
प्रदर्शनीले फूलको व्यावसायिक खेती गर्न चाहने तथा घरबगैँचा सजाउन इच्छुक व्यक्तिलाई समेत सहयोग पु¥याउने आयोजकको विश्वास छ । सहभागीले फूल तथा बिरुवाको उत्पादन, प्रविधि र व्यवस्थापनसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
यसैगरी, फूल तथा बोटबिरुवामा लाग्ने रोग र कीराबारे जानकारी दिन बालीरोग विशेषज्ञसहितको प्लान्ट क्लिनिक सञ्चालन गरिनेछ । उक्त क्लिनिकबाट सर्वसाधारणले बिरुवाको स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक प्राविधिक परामर्शसमेत लिन सक्नेछन् ।
प्रदर्शनी अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ ।
तिहार तथा छठ पर्वका बेला फूलको माग बढ्ने भएकाले यस प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवद्र्धन, फूलको बजार विस्तार र पुष्प व्यवसायीलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, नेपाली फूल तथा बिरुवाको व्यावसायिक उत्पादनलाई प्रोत्साहन गर्दै पुष्प व्यवसायको विकासमा योगदान पुग्ने विश्वास आयोजकले लिएको छ ।
प्रदर्शनीको उद्घाटन बागमती प्रदेश कृषि वन तथा वातावरण मन्त्री माननीय रमा आले मगरले गर्ने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्