काठमाडौं कार्तिक ११, खाद्य तथा गुण नियन्त्रण विभागले एक प्रेस विज्ञाप्ति प्रकाशित गरी इनर्जी ड्रिक्सको उत्पादन तथा बिक्रीवितरण सम्वन्धी विषयमा इनर्जी ड्रिक्सलाई जोडेर समाचार प्रकाशन गरेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको जनाएको छ ।
विभागका अनुसार इनर्जी ड्रिक्स अल्कोहल–रहित क्याफिनेटेड वेभरेजको समूहमा पर्ने पेय पदार्थ भएको जनाएको छ । जसमा मुख्य सम्मिश्रणका रूपमा खाद्य योगशिलहरु प्रयोग गरिएको हुन्छ । यी सम्मिश्रित पदार्थहरुको विभिन्न मुलुक लगायत अन्तर्राष्ट्रिय संस्थाहरुले निश्चित मात्रामा उपभोग गर्न सकिने गरी सुरक्षित मात्रा निर्धारण गरेका हुन्छन् ।
अन्तर्राष्ट्रिय संस्थाहरुका अनुसार निस्चित उमेरको व्यक्तिले चिया, कफि, चकलेट, इनर्जी ड्रिक्स लगायतका क्याफिनेटेड बेभरेज, उपभोग गर्दा एक दिनमा कूलको मात्रा ४०० मिलिग्राममा नब्ढने गरी उपभोग गर्न सकिने भनी वैज्ञानिक तथ्यका आधारमा दैनिक सुरक्षित उपभोगको मात्रा निर्धारण गरेको छ । हाल, नेपालमा इनर्जी ड्रिक्स उत्पादन तथा बिक्रीवितरण गर्ने उद्देश्यले १७ वटा उद्योगहरुले नेपाल सरकारका विभिन्न निकायबाट अनुमति लिई उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् र सबै उत्पादनहरुमा मात्र मानव उपभोगको लागि तोकिएको सुरक्षित मात्राको जम्मा २५ प्रतिशत भन्दा कम मात्रा प्रति क्यान (१०० मिलिग्राम) मात्र प्रयोग गरेको लेवल विवरण र प्रयोगशालाको विश्लेषण प्रतिवेदनबाट समेत पाईएको हुदा इनर्जी ड्रिक्स उत्पादकहरुले प्रयोग गरेको मात्रा मानव उपभोगको लागि सुरक्षित मात्रा भित्र रहेको भनि जनाएको छ ।
आम उपभोक्ताले इनर्जी ड्रिक्सको लेवलमा उल्लेख भएको सचेतना सन्देश अनुसार बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह लगायतका बिरामी र क्याफिनले असर गर्ने व्यक्ति वा समूहले उपभोग नगर्ने साथै उपभोग गर्न मिल्ने व्यक्तिले एक दिनमा दुई क्यान ३३० मि.लि.सम्म उपभोग गर्न अनुरोध गरेको छ । साथै, इनर्जी ड्रिक्सलाई पानी, जुस, दूध, मोही लगायतका पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य पेय पदार्थमा मिसाएर उपभोग नगर्न समेत अनुरोध छ ।
इनर्जी ड्रिक्सको उत्पादक एवं बिक्रेताले आफ्नो उत्पादनको कुनै पनि माध्यमबाट विज्ञापन गर्दा सो को व्यहोरा लगायत अन्य अनुमति लिनु पर्ने निकायबाट प्रचलित कानून बमोजिम अनुमति लिएर मात्र कार्य सञ्चालन गर्न तथा लेवलमा उल्लेख गरिएका सचेतना सन्देश एवं उपभोगको लागि सुरक्षित मात्रा समेत प्रसारण गर्न सम्बन्धित खाद्य व्यवसायीहरुलाई जानकारी गरेको छ ।
विभागद्वारा खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्ड एवं अभ्यासको आधारमा गरिएका कार्यहरुका विषयमा सर्वसाधारणलाई भ्रम सिर्जना तथा त्रास नहुने गरी वैज्ञानिक अध्ययनमा आधारित तथ्यहरु प्रसारण एवं सम्प्रेषण गरिदिनु हुन र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने विषयलाई प्राथमिकता दिनुहुन सम्वद्ध सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्