२०८३ मंसिर १३

राष्ट्रिय किसान सञ्जालद्वारा ११ वुँदे मागपत्रमार्फत सरकारलाई ध्यानाकर्षण

काठमाडौं मंसीर १०, राष्ट्रिय किसान सञ्जालले कृषि क्षेत्रको वर्तमान अवस्थाबारे राजधानीमा पत्रकार सम्मेलन गरी सरकारलाई ध्यानाकर्षण गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्तिमा देशको अर्थतन्त्र, खाद्य सुरक्षा, उद्यमशीलता, रोजगारी र आम नागरिकको जीविकोपार्जनको महत्वपूर्ण आधार कृषि क्षेत्र हो । यस क्षेत्रमा दिनरात मिहिनेत गर्ने, दश नङ्रा खियाउने र पसिना चुहाउने किसानले भोग्नुपरेका समस्या तथा समग्र कृषि क्षेत्रको वर्तमान अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । विज्ञाप्तिमा भनिएको छ ।
हामीले किसानका समस्या, दुःख, पीडा र कृषि क्षेत्रका समग्र चुनौंतीहरूलाई विभिन्न मागका रूपमा पटक–पटक सरकारसमक्ष प्रस्तुत गर्दै आएका छौँ । तर, हाम्रा मागप्रति सरकारले अपेक्षित चासो र संवेदनशीलता देखाएको छैन । बरु सरकारका कतिपय निर्णय, कार्यशैली र उदासीनताका कारण कृषि क्षेत्रका समस्या थप जटिल बन्दै गएका छन् । यस्तो प्रवृत्तिले नेपालको कृषि प्रणालीलाई गम्भीर संकटतर्फ धकेलिरहेको छ भने किसानका हक, अधिकार र पेशागत सुरक्षासमेत दिनप्रतिदिन कमजोर हुँदै गएको छ ।
हामीले यी माग र मुद्धाहरू विगतदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आएका र पटकपटक समाधानको माग गरिएका समस्याहरू हुन् र कतिपय नयाँ मुद्धाहरू पनि रहेका छन् । तर यी समस्या समाधानमा सरकारको उदासीनता कायमै रहेकाले हामीले पुनः आफ्ना आवाज बुलन्द गर्नुपरेको छ ।
यसर्थ, किसानका जायज मागलाई पुनः सरकारसमक्ष प्रस्तुत गर्दै तिनको तत्काल र प्रभावकारी सम्बोधनका लागि हामी जोडदार माग गर्दछौँ । सञ्जालले विज्ञाप्ति निम्नानुसारका मागहरू राखेका छन् ।

१. कृषि सामग्रीको मूल्यवृद्धि नियन्त्रण र किसानलाई उत्पादन लागतमा राहतः
कृषि उत्पादनमा प्रयोग हुने बीउ, मल, विषादी, कृषि औजार, उपकरण, इन्धन, विद्युत तथा अन्य आवश्यक सामग्रीको मूल्य अत्यधिक बढ्दा किसानको उत्पादन लागत अस्वाभाविक रूपमा वृद्धि भएको छ । त्यसैगरी दानाको मूल्यमा बृद्धि भएको कारण दुधजन्य तथा मासुजन्य पदार्थ उत्पादनमा लागत बृद्धि भएको छ । त्यसैगरी मल्चसमेत प्लटिकजन्य पदार्थ, ढुवानी र कृषिजन्य अन्य किटहरूको मूल्यबृद्धि भएको छ । बाली लगाउनेदेखि उत्पादन भित्र्याउने र बजारसम्म पु¥याउने प्रक्रियामा किसानले चर्को मूल्य चुकाउनुपरेको छ । तर, त्यसअनुरूप किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । यसको प्रत्यक्ष लाभ बिचौलियाले उठाइरहेका छन् भने किसान दोहोरो मारमा परेका छन् र उपभोक्तासमेत महँगीको चपेटामा परेका छन् । त्यसैले कृषि उत्पादनमा प्रयोग हुने सामग्रीको मूल्य नियन्त्रण तथा समायोजन गरी उत्पादन लागत घटाउन र किसानलाई राहत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछांँ ।

२. कृषि उपजको न्यूनतम समर्थन मूल्य र खरिदको सुनिश्चितताः
मुलुकको प्रमुख कृषि उपज धानको समर्थन मूल्य सरकारले निर्धारण गरे पनि सोही मूल्यमा किसानको धान खरिद गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । मोटाधानको समर्थन मूल्य रु. ३६६० र मध्यम धानको रु. ३८६० तोकिएको भएपनि किसान आफ्नो उत्पादन बाध्यतावश कममूल्यमा बिक्री गर्न विवश छन् । त्यसैले सरकारले आफैँले निर्धारण गरेको समर्थन मूल्यमा किसानको धान खरिद गर्ने प्रभावकारी व्यवस्था तत्काल मिलाउन र यसअघि समर्थन मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछौं । साथै, धानलगायत गहुँ, मकै, कोदो, तरकारी, फलफूल तथा अन्य प्रमुख कृषि उपजको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी किसानले सो मूल्य अनिवार्य रूपमा प्राप्त गर्ने र खरिदको सुनिश्चितता हुने व्यवस्था गर्न माग गर्दछौं ।

३. बाढीपीडित किसानको पुनःस्थापना, राहत र क्षतिपूर्तिः
२०८३ साल असोज १० गते भोटेकोशी तथा त्यसपछि बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायतका जिल्लाको जनजीवन नराम्ररी प्रभावित पारेको छ । बाढीबाट किसानका हजारौँ रोपनी खेतीयोग्य जमीन र त्यसमा लगाइएका बाली बगाउनुका साथै अन्नपात, पशुपन्छी र घरटहरासमेत नष्ट गरेको छ । यसबाट हजारौं परिवारको जीविकोपार्जन र खाद्य सुरक्षामा गम्भीर संकट उत्पन्न भएको छ । त्यसैले बाढीपीडित किसान तथा प्रभावित परिवारका लागि मल, बिउ, सिँचाईं तथा विजुली निःशुल्क उपलब्ध गराई मालपोत मिनाहा, निव्र्याजी कर्जा, उत्पादन अनुदानसमेतका राहत प्याकेज घोषणा र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न, क्षतिग्रस्त खेतीयोग्य जमिनको पुनर्निर्माण गर्न माग गर्दछ । प्रभावित परिवारका बालबालिकाको शिक्षा निरन्तर हुने वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

४. दुधको मूल्यबृद्धि र वक्यौता भुक्तानी सम्वन्धमाः
दुध उत्पादन प्रयोजनमा प्रयोग हुने दाना, चोकर, परालसमेतमा चर्को मूल्यबृद्धि भएका कारण दुग्ध किसानको लागत बढ्न गएकोले दुधको मुल्य प्रतिलिटर रु १५ बृद्धिगरी रु ८० पु¥याउ माग गर्दछौं ।
दुग्ध उत्पादक किसानले सरकारी तथा निजी डेरी उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी समयमै पाउन सकेका छैनन् । दूध खरिद गरेको एक हप्ताभित्र भुक्तानी पाउने व्यवस्था हुनुपर्नेमा वर्षौँसम्म भुक्तानी रोकिँदा किसान गम्भीर आर्थिक संकटमा परेका छन् । सरकारी, डेरी उद्योगको यस्तो गैरजिम्मेवार व्यवहारले दुग्ध उत्पादक किसानलाई प्रताडित बनाउनुका साथै पशुपालन व्यवसाय नै धराशायी हुने र समग्र दुग्ध उत्पादन तथा वितरण प्रणाली प्रभावित हुने जोखिम बढाएको छ । त्यसैले दुग्ध विकास संस्थान तथा निजी डेरी उद्योगबाट किसानले पाउन बाँकी सम्पूर्ण बक्यौता रकम तत्काल भुक्तानी गर्न, ढिलाइ भएको अवधिको उचित क्षतिपूर्ति उपलब्ध गराउन र दूध खरिद गरेको बढीमा एक हप्ताभित्र किसानले भुक्तानी पाउने कानुनी तथा संस्थागत व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।

५. रासायनिक मलको सहज उपलब्धता र दीर्घकालीन समाधानः
नेपाली किसानले हरेक वर्ष बाली लगाउने महत्वपूर्ण समयमा रासायनिक मलको अभाव झेल्नुपरिरहेको छ । यतिबेला पनि हिउँदेवाली लगाउन प्रयोग हुने मलको अभाव रहेको छ । मलको वितरणमा हुने अव्यवस्थाका कारण समयमा खेती गर्न नपाउँदा उत्पादन र उत्पादकत्वमा नकारात्मक असर परिरहेको छ । किसानले चर्को मूल्यमा अनधिकृत स्रोतबाट मल खरिद गर्नुपर्ने बाध्यतासमेत भोगिरहेका छन् । त्यसैले रासायनिक मलको नियमित आपूर्ति र सहज उपलब्धता सुनिश्चित गर्न, यसको उत्पादन तथा आयातलाई व्यवस्थित गर्न, वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन तथा देशभित्रै रासायनिक मल कारखाना स्थापनासहित दीर्घकालीन समाधानका लागि ठोस नीति र कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौँ ।

६. सुपारी खेती र सुपारी उत्पादक किसानको संरक्षण तथा बजारीकरणः
नेपालका पूर्वी जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामलगायतका क्षेत्रमा सुपारी खेती हुँदै आएको छ । उल्लेख्य क्षेत्रफलमा विस्तार भइरहेको सुपारी खेती हजारौँ किसानको आम्दानी र जीविकोपार्जनको महत्वपूर्ण आधार बनेको छ । तर उत्पादित सुपारीको उचित मूल्य र बजार सुनिश्चित हुन नसक्दा किसान प्रभावित भएका छन् । स्वदेशी सुपारीको डिएनए परिक्षण पछिमात्र निर्यात गर्ने राज्यको नीतिले स्वदेशी सुपारी निर्यात हुन सकेको छैन । त्यसैले निर्यातका लागि राखिएको उक्त डिएनए प्रावधान हटाई निर्यातको वातावरण मिलाउन जोडदार माग गदछौं ।

७. भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानः
सुकुम्वासीलाई वैकल्पिक वासको व्यवस्था नगरी उनीहरुका बस्तीमा डोजर लगाएर घरटहरा भत्काउने र नागरिकलाई घरबारविहीन बनाउने कार्य भयो । विस्थापित नागरिकलाई होल्डिङ सेन्टरमा राखिए पनि उनीहरूको दीर्घकालीन पुनर्वास र व्यवस्थापनको उचित प्रबन्ध हुन सकेको छैन । अहिले सुकुम्बासीलाई ती होल्डिङ सेल्टरबाट समेत खेदिँदैछ । हजारौं भूमिहीन तथा सुकुम्बासी परिवारको पीडा र समस्याप्रति सरकार संवेदनशील बन्न सकेको छैन । नागरिकको आवास, सम्पत्ति, सम्मान र मर्यादित जीवनयापनको अधिकारको सम्मान गर्दै वैकल्पिक व्यवस्था नगरी कसैलाई पनि विस्थापित नगर्न र विस्थापित भइसकेका परिवारको उचित पुनर्वास सुनिश्चित गर्न माग गर्दछौँ । साथै, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या कानुनी र न्यायोचित प्रक्रियाबाट तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

८. वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण र किसानलाई क्षतिपूर्ति:
बाँदर, जंगली हात्ती, बँदेल, भालुलगायतका वन्यजन्तुबाट किसानको बालीमा ठूलो मात्रामा क्षति भइरहेको छ । कतिपय क्षेत्रमा किसानले वर्षभरि मिहिनेत गरेर लगाएको बाली वन्यजन्तुले नष्ट गरिदिँदा खेतीपातीबाट जीविकोपार्जन गर्न नसक्ने अवस्था सिर्जना भएको छ । यसबाट प्रभावित किसान आफ्नो थातथलो र पुख्र्यौली जमिन छाडेर आन्तरिक बसाइँसराइ गर्न बाध्य भइरहेका छन् । यसले कृषि उत्पादन र उत्पादकत्वमा समेत नकारात्मक असर पारेको छ । त्यसैले वन्यजन्तुबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी व्यवस्थापन र नियन्त्रणका उपाय अवलम्बन गर्न, प्रभावित किसानलाई क्षतिको यथार्थ मूल्याङ्कनका आधारमा तत्काल र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउन तथा किसानको खेतीपाती र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न माग गर्दछौँ । साथै, वैकल्पिक वालीमा किसानलाई प्रोत्साहन गर्न माग गर्दछौं ।

९. उखु उत्पादक किसानको समस्या समाधान र उचित मूल्यको सुनिश्चितताः
प्रत्येक वर्षजसो उखुको क्रसिङ सिजनमा उखु किसानले समर्थन मूल्यका लागि आन्दोलन गर्नु पर्ने बाध्यता एउटा विडम्वना नै बनेको छ । यसवर्ष पनि समयमै समर्थन मूल्य घोषणा हुन सकेको छैन । सरकार उखु उत्पादक किसानसँग वार्ता गरेर मूल्य तोक्नु भन्दा चिनी उद्योगीको पक्षमा आफुलाई उभ्याउन पुगेको छ । चिनी उत्पादन र विक्री अनुसार, उत्पादनजन्य पदार्थमा भएको मूल्यबृद्धि, श्रमिकको ज्यालामा भएका बृद्धिका कारण उखु उत्पादनको लागतमा व्यापक बृद्धि भएकाले उखुको समर्थन मुल्य प्रति क्वीन्टर रु १०२५ तोक्न माग गर्दछौं ।
त्यसैगरी उद्योगबाट हुनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी तत्काल गराउन तथा उखुको बजारीकरण र चिनी उद्योगसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

१०. मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार र जीविकोपार्जनको सुनिश्चितता:
मुलुकका विभिन्न राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले आफ्नो परम्परागत जीवनशैली, कृषि, पशुपालन, वन पैदावारको उपयोग तथा अन्य आर्थिक गतिविधि सञ्चालनमा विभिन्न समस्या र प्रतिबन्धको सामना गर्नुपरिरहेको छ । वन्यजन्तुबाट हुने क्षति, प्राकृतिक स्रोतसाधनको उपयोगमा देखिएका कठिनाइ तथा जीविकोपार्जनका सीमित अवसरका कारण उनीहरूको जीवनयापन प्रभावित भइरहेको छ । त्यसैले मध्यवर्ती क्षेत्रका बासिन्दाको संवैधानिक तथा कानुनी अधिकारको संरक्षण गर्दै उनीहरूको सुरक्षा, जीविकोपार्जन र आर्थिक गतिविधि सुनिश्चित हुने गरी सुरक्षित तथा दिगो वैकल्पिक व्यवस्था गर्न आवश्यक नीति, कानुन र योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गर्दछौं ।

११. सुनकोशी–मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तत्काल अगाडि बढाउन:
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेर रद्द गरिनुले मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले सिँचाइ सुविधा प्राप्त गर्ने राखेको अपेक्षामा गम्भीर धक्का पुगेको छ । यस आयोजनाबाट करिव डेढलाख हजार बिघा खेतीयोग्य जमीनमा सिँचाईं सुविधा पु¥याउने लक्ष्य रहेको अवस्थामा ठेक्का रद्द र निर्माणमा हुने थप ढिलाइले किसानलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेको सिँचार्इै सुविधाबाट वञ्चित गर्नेछ । यसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, खेतीयोग्य जमिनको पूर्ण उपयोग गर्ने तथा किसानको आर्थिक अवस्था सुधार गर्ने राष्ट्रिय लक्ष्यसमेत प्रभावित हुनेछ । त्यसैले ठेक्का रद्द हुनुको कारण र त्यसबाट सिर्जना भएको अन्योल तत्काल समाधान गरी पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट निर्माण कार्य अघि बढाउन, आयोजनाको निश्चित समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्न र निर्धारित समयमै किसानका खेतबारीमा सिँचाइ सुविधा पु¥याउने व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
सरकारले किसानका यी जायज मागलाई अब पनि बेवास्ता गर्ने, आलटाल गर्ने वा आश्वासनमै सीमित राख्ने काम गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्नेछ ।
अन्यथा, राष्ट्रिय किसान सञ्जालमा आवद्ध सम्पूर्ण किसान संघ–संगठनहरूलाई एकतावद्ध गर्दै देशभरका किसानलाई संगठित गरी चरणवद्ध तथा सशक्त देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न हामी बाध्य हुनेछौं, विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain