कृषि प्रविधि

भैरहवामा गहुँको तीन नयाँ जात विकास, के उत्पादन बढ्ला ?

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमको भैरहवास्थित कार्यालय ।
पछिल्लो एक वर्षमा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले तीन वटा नयाँ जातको गहुँ अनुसन्धान गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा ‘‘एनएल १३०७’’ (बोर्लाग १००), ‘‘एनएल १३२७’’ र ‘‘एनएल १३६९’’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरेको हो ।
अनुसन्धान पछि कृषि मन्त्रालयमा रहेको राष्ट्रिय बीउबीजन समितिमा सिफारिसको तयारी भइरहेको गहुँबाली अनुसन्धानका बाली प्रजनक वरिष्ठ वैज्ञानिक दीपक पाण्डेले जानकारी दिए ।
समितिले प्रयोग गर्नका लागि स्वीकृत दिएर राजपत्रमा सूचना प्रकाशन गरेपछि नयाँ जात गहुँ कार्यान्वयनमा आउनेछ ।
अनुसन्धान गरिएका गहुँका नयाँ जातहरू ।
‘‘पहिला खाद्य सुरक्षा भनेर उत्पादन वृद्धिका लागि मात्रै गहुँको जात सिफारिस हुन्थ्यो, अहिले खाद्यान्न विश्लेषण गरेर जिङ्क तथा आइरन भएका जातहरू अनुसन्धान र उन्मोचनका लागि सिफारिस गरिएको छ’’, गहुँबालीका सूचना अधिकृतसमेत रहेका वरिष्ठ वैज्ञानिक पाण्डेले भने ।
यो नयाँ जातमा अन्य गहुँमा भन्दा जिङ्क र आइरनको मात्रा २५ प्रतिशतले बढी हुन्छ । जसले गर्दा यसको स्वाद मिठो हुनुका साथै मानव स्वास्थ्यका लागि निकै फाइदा गर्छ । यस्तै, उत्पादन र उत्पादकत्वसमेत राम्रो हुने दावी गरिएको छ ।
तराईमा राम्रो उत्पादन हुँदै आएका भृकुटी, गौतम जातको गहुँमा पछिल्लो समय खैरो सिन्दुरे, डढुवाजस्ता रोगको प्रकोप बढ्दै गएको छ । यसको विकल्पमा जिङ्क र आइरनको मात्रा पनि बढी भएको र रोग लाग्ने सम्भावनासमेत न्यून भएका नयाँ जातको गहुँ अनुसन्धान गरिएको पाण्डेको भनाई छ । अनुसन्धान गरिएको नयाँ जात तराई क्षेत्रमा प्रयोगमा ल्याइने छ ।
गहुँको नयाँ जातको अनुसन्धान गर्दै वैज्ञानिक ।
‘‘चालू आवको सिजनबाट प्रयोगमा आउने छ । यसको उत्पादन र उत्पादकत्व राम्रो हुने हाम्रो अनुसन्धानले प्रमाणित गरेको छ’’, पाण्डेले भने । अघिल्लो वर्ष ‘‘भैरहवा लायन ४३४१’’ नामको नयाँ जातको गहुँ अनुसन्धानपछि प्रयोगका लागि सिफारिस गरिएको थियो । यो कार्यान्वयनमा आइसकेको छ ।
कार्यालयले ४६ वर्षदेखि गहँुको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ । यो अवधिमा ४७ जातका गहुँ अनुसन्धान भइसकेको छ ।
यीमध्ये ३२ जातको गहुँ नेपालमा खेती हुँदै आएको छ । कार्यालयका अनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ । त्रिवेणी, भाष्कर, लुम्बिनी लगायत १२ जातको गहुँमा रोगको प्रकोप तथा उत्पादन र उत्पादकत्व समेत राम्रो नभएका कारण विस्थापित गरिएको छ भने अहिले अनुसन्धान गरिएका तीन जात कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।
यो वर्षबाट धानको मूल बीउ उत्पादन र त्यसको परीक्षण शुरु गरिएको छ । यसवर्ष धानको हाइव्रिड बीउ उत्पादन गर्ने लक्ष्य राखिएको पाण्डेले जनाए । नेपालमा तराईका लागि एनएल ९७१, वाणगंङ्गा, बीएल ४३४१, भृकुटी, गौतम जातको गहुँ उत्तम मानिन्छ । तर, भृकुटी र गौतममा रोगको प्रकोप बढ्दै गएपछि विस्थापित गर्ने तयारी गरिएको छ । अन्य जात भने प्रयोगमै रहनेछन् । यस्तै, पहाडका लागि स्वर्गद्वारी, धवलागिरी, डब्लुके १२०४ लोकप्रिय जात हुन् भने उच्च पहाडमा डाँफे, पासाङ ल्यामु लगायतको जात उत्तम मानिन्छ ।
नेपालमा गहुँको जातको विकास गर्दा अन्तर्राष्ट्रिय संस्थाहरूबाट ल्याएर परीक्षणपश्चात् हावापानी सुहाउँदो जातको छनौंट गरिन्छ । त्यसपछि विभिन्न गहुँको जातको क्रसबाट नयाँ र उपयुक्त जातको विकास तथा अनुसन्धान हुँदै आएको छ । गहुँको जात विकास गर्दा पूर्व–पश्चिमसम्म रहेका नार्कका स्टेसनहरूमा जाँच गरिन्छ ।
कतिपय किसानलाई खेती गर्न लगाएर उत्पादन र उत्पादकत्वको परीक्षण समेत गरिन्छ । नेपालमा करिब २० वटा अनुसन्धान कार्यालयले मूल बीउ उत्पादन गर्दै आएका छन् । उत्पादित बीउ विभिन्न बीउविजन कम्पनी, कृषि तथा सहकारी कम्पनी, बीउविजन गर्ने सहकारी तथा निजी उद्योग, अगुवा किसानले प्रयोग गरी बीउ उत्पादन गरी वितरण गर्दै आएका छन् ।

नेपालमा ९५ प्रतिशतभन्दा बढी किसानले स्वदेशमै उत्पादित विभिन्न जातको गहुँको बीउ प्रयोग गर्ने गर्छन् भने मुलुकभर ७ लाख ६ हजार ८४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । उत्पादनका हिसाबले धान र मकै पछि गहुँ तेस्रो बाली हो । प्रयोगका आउनेमध्ये धानपछिको दोस्रो बाली मानिन्छ । नेपालमा सन् १९६० बाट गहुँ अनुसन्धान शुरु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close