नेपालमा टिमुर खेतिको सम्भावना
हिरा पाण्डे (दीक्षा)
हामी सबैले सानैबाट सुन्दै आएको कुरा– “नेपाल जैविक विविधताले भरिपूर्ण देश हो ।” यस सुन्दर भुमिमा हजारौं किसिमका जिवजन्तु तथा वनस्पतिहरु पाइन्छ । वनस्पतीकै कुरा गर्दा आज हामी टिमुर बारे जानकारी लिनेछौं । हुन त टिमुर बारे धेर–थोर ज्ञान सबैमा हुन्छ । हामिले दैनिक रुपमा यसको उपभोग गरिरहेकै हुन्छौं । हाम्रो भान्साघरमा धेरैजसो यसको प्रयोग मसलाको रुपमा र चटनी बनाउन हुन्छ जुन सर्वप्रीय छ ।
परिचय ः
महाभारत पर्वत श्रँृखलाको १२०० देखि १५०० मिटरसम्मको उचाईमा पाइने यस टिमुरलाई अग्र्रेजी भाषामा सिच्यान पेप्पर (Sichyan pepper) भनिन्छ । त्यसैगरि तामाङ भाषामा ञप्रुमो भनिन्छ भने नेवारी भाषामा यो “टेबु” नामले प्रख्यात छ । रुटेसी (Rutaceae) वनस्पती परिवार भएको यसको वैज्ञानिक नाम भने जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) हो । टिमुरको बोट करिब २ मिटर देखि ६ मिटर सम्मको उचाईमा हुन सक्छ । यसको बोट भरिनै केही चेप्टो परेका तिखा–तिखा काला काँडाहरु हुन्छन, जसलाई गाउँघरमा बल्छिको रुपमा समेत प्रयोग गरिन्छ । टिमुरको डाँठको दुबैतिर स–साना २ देखि ६ जोडिसम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन । यी पातहरु माड्दा एक किसिमको मीठो सुगन्ध आउँछ । टिमुर फल सानो रातो ४–५ मिलिमिटर डायमिटरका हुन्छन । फलको स्वाद तितो पिरो हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । फलहरु वास्नादार हुन्छन । काँचोमा हरियो हुने यी फलहरु पाकेपछि रातो रङ्गमा परिणत हुन्छन । फल भित्र एउटै मात्र गोलो कालो टल्किने बीउ हुन्छ । अन्य बोटबिरुवामा जस्तै टिमुरमा पनि भाले पोथी फुल फरक–फरक बिरुवामा हुन्छ । फुल हरिया र केही पँहेला साना आकारका हुन्छन ।
आवश्यक माटो र हावापानी ः
टिमुर खुल्ला डाँडा, पाखापखेरोमा पाइने वनस्पति हो । यसको लागि सुर्यको किरण उचित मात्रामा हुनुपर्छ । साथै हिउँदमा ठण्डा र गर्मीमा न्यानो हुने हावापानी भएको क्षेत्रमा यसको राम्रो विकास हुन्छ । माटो चयन गर्दा भिर पाखाको बलौटे एवः पत्थरिलो माटो चयन गर्नुपर्छ । माटोको एज् लेभल ६.५–७.० सम्म हुनु पर्दछ ।
टिमुर कहाँ पाइन्छ ?
टिमुर कश्मिरदेखि नेपाल, भुटान, पुर्वी चीन, ताइवान, फिलिपिन्ससम्म फैलिएको छ । नेपालमा रुकुम, रोल्पा, प्युठान, सल्यान, आछाम र जाजरकोट टिमुरका लागि प्रसिद्ध मानिन्छन् । विशेष गरेर यो कटुस गुराँस, चुत्रो, सल्लो, बाँझ आदि प्रजातीका वनस्पतीसँग मिसिएको पाइन्छ ।
टिमुर खेती कसरी गर्ने त ?
टिमुरको बिरुवा फागुन चैत तिर खनजोत गरि नर्सरी ब्याडमा बीउ उमारेर प्राप्त गर्न सकिन्छ । १ हेक्टरमा ५०० ग्रामको दरले बीउ रोप्नु पर्छ । १० सेन्टिमिटरको फरकमा लाइन मिलाएर बीउ रोप्नु पर्दछ । बिउलाई ब्याडमा रोपेपछि धुलो माटोले हलुकासँग छोप्नु पर्छ । त्यसपछि परालले पातलो गरि ढाक्नु पर्छ । ब्याडमा बीउ उम्रिन थालेपछि पराललाई हटाउने र अर्को ६० सेन्टिमिटर जति अग्लो छाप्रोको छहारी दिनु पर्छ । प्लास्टिकको थैलामा पनि यसको बिरुवा उमार्न सकिन्छ । सामान्यतया बिरुवा एक वर्षको (लगभग १५ सेन्टिमिटर) जति भएपछि रोप्न योग्य हुन्छ ।
बिरुवा निकाल्ने अर्को विधि भनेको कटिङ (Sichyan pepper) प्रक्रिया हो । कटिङबाट निकालिएको बिरुवाले छिटो फल दिने भएकाले यो ज्यादा लोकप्रिय छ ।
बिरुवा रोप्ने उत्तम समय भनेको असार महिना हो । मनसुन आउनु अगाडि र जाडो समयमा पनि बिरुवा रोप्दा राम्रै हुन्छ । बिरुवा लगाउनु भन्दा ३–४ महिना अगाडि नै ४–४ मिटरको फरकमा ३५÷३५ सेन्टिमिटरको खाडल खनेको हुनुपर्छ । अनि वेर्नाको प्लास्टिकको थैलो हटाई बिरुवा रोप्न मिल्छ । जाडो मौसममा वृक्षारोपण गर्दा माघ, फागुन महिना उचित मानिन्छ । अझ एकझरि पानी परेपछि तयारी अवस्थाको खाडलमा बिरुवा रोप्नु एकदमै उपर्युक्त हुन्छ । बिरुवा लगाएको केही समयसम्म सिचाईंको व्यवस्था मिलाउनु पर्छ । बिरुवा रोपेको लगभग ३ वर्षबाट फल लाग्न थाल्छ । यसबिचमा हामीले वर्षको ३–४पटको दरले गाईवस्तुको मल बिरुवाको वरिपरि लगाएर गोडमेल गर्नुपर्छ ।
महत्व र उपयोगिता ः
टिमुर एकदमै ज्यादा आर्थिक, सांस्कृतिक, औषधीय, आयुर्वेदिक तथा औद्योगिक महत्व बोकेको वनस्पती हो । विशेष गरि पहाडी क्षेत्रमा बढि पाइने टिमुरको परापुर्वकालदेखि नै अनेकौं तरिकाले प्रयोग भइरहेको छ ।
– गाउँघरमा जंगली जुका फाल्न, पेटको दुखाई, दाँतको दुखाई, हाडजोर्निको दुखाई कम गर्न, घाउचोट–खटिरा लाग्दा, लेक लाग्दा यसको प्रयोग गरिन्छ । टिमुरको फलको बोक्राबाट स्टिम डिस्टिलेसन (Steam distillation) को माध्यमद्वारा एक प्रकारको सुगन्धित तेल तयार गरिन्छ । हातखुट्टा मर्किदा, हाडजोर्नी दुख्दा, ढाड दुख्दा, टाउको दुख्दा, पिनास हुँदा यस तेलको प्रयोग गरेमा राहत मिल्छ ।
–भोक नलाग्ने अथवा अपची समस्या भएकाहरुलाई पनि टिमुरको सेवनबाट फाइदा हुन्छ ।
–फोसफोरस (एजयकउजयचयगक)को मात्रा अत्यधिक हुने भएकाले टिमुरको सेवनबाट हड्डीहरु मजबुत बन्छन् ।
–प्रायजसो जाडो मौसममा खानामा यसको नियमित सेवन गर्दा शरीरमा न्यानोपनको आभास हुन्छ ।
–टिमुरको सेवनबाट आँखामा हुने धेरै समस्याबाट छुट्कारा पाउन सकिन्छ । शरीरमा रक्तचाप, धड्कन आदिलाई सन्तुलनमा राख्न पनि यसको प्रयोग हुन्छ । औषधीय रुपले एकदमै ज्यादा महत्व बोकेको टिमुर एलोपेथी र आयुर्वेदिक दबाईहरुमा एक अभिन्न तत्वको रुपमा प्रयोग हुन्छ ।
–टिमुरको पात,बोक्रा,जरा आदि सबै भाग केही न केही तरिकाले प्रयोग गर्न मिल्छ।धेरैजसो यी भागहरुबाट दन्तमन्जन र साबुनहरु बनाइन्छ ।
सम्भावना र वर्तमान अवस्था ः
यति धेरै महत्व बोकेको यस वनस्पतिको हामीले सही तरिकाले खेती र बजारिकरण गर्न सक्ने हो भने यसबाट मनग्गे आर्थिक लाभ उठाउन सक्छौं । टिमुर विशेष गरि पहाडी क्षेत्रको भिर पाखामा सजिलै खेती गर्न सकिन्छ । जहाँ अन्य अन्न बाली लगाउँदा बाँदर, दुम्सी, चराचुरुङ्गीहरुले नष्ट गर्ला भन्ने डर हुन्छ भने टिमुरको खेतीमा त्यस्तो डर हुन्न । साथै एउटै बोटले कयौं वर्षसम्म फल दिइराख्ने, धेरै हेरविचार गरिरहनु नपर्ने,अमलिन बालुवे माटो र बाँझो जमिनको पनि सदुपयोग हुने भएकाले अहिले आएर धेरैको आकर्षण यसप्रती बढ्दै गरेको देख्न सकिन्छ । यो सकरात्मक लक्ष्यण हो । वर्तमान अवस्थामा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय बजारमा यसको अत्याधिक माग भएको तर सप्लाई भने एकदमै कम भइहेकोले टिमुर ब्यवसायले ठूलो सम्भावना बोकेको छ । अहिले हाल नेपाली बजारमा टिमुर प्रति किलो ९०० देखि १२०० सम्ममा बिक्री भइरहेको छ भने अन्तर्रास्ट्रिय बजारमा यसको मूल्य १४००ं छ । एक हेक्टर जमिनमा हामीले १००० बोटहरु लगाउन सकिन्छ र हरेक बोटबाट औसतमा २ देखि ४ किलो फल प्राप्त गर्न सकिन्छ । यो तथ्याङ्कलाई मिलाएर हेर्ने हो भने हामीले एक हेक्टर जमिनबाट लगभग २०००–४००० के.जि. टिमुर उत्पादन गर्न सकिन्छ । यहीँबाट प्रस्ट हुन्छ कि हामीले यसको व्यवसायबाट कुन हदसम्म आफ्नो आर्थिक विकास गर्न सक्छौं ।
टिमुर व्यवसायको भविष्य यसकारण एकदमै उज्ज्वल छ । यसलाई अन्तर्राष्ट्रिय माग अनुसारको सप्लाई गर्न सक्ने हो भने हामीले यथेष्ट विदेशी डलर नेपालमा भित्र्याउन सक्छौं । यसमा विशेष गरि हामी युवावर्गको ध्यान जान जरुरी छ । यसो भएमा हामी धेरैले थोरै पैसाको लोभमा खाडिमा गएर खिइनु पर्दैन । आफ्नै देशमा स्वरोजगार भई देश विकासमा योगदान पु¥याउन सकिन्छ । सरकारले पनि यस व्यवसायको प्रवद्र्धन र विकासमा किसानहरुसँग हातेमालो गरेर अगाडी बढ्नुपर्छ । किसानलाई सहज हुने खालका नियम नीति ल्याउनुपर्छ । बेलाबेलामा टिमुरका बिरुवाहरु, प्लास्टिक लगायत खेती गर्दा आवश्यक वस्तुहरुको किसानहरु माझ निशुल्क वितरण गर्ने, समय–समयमा आर्थिक अनुदानहरु दिएर किसानहरुको मनोबल र उत्साह बढाउने काम सरकारबाट हुनुपर्छ । कृषिविज्ञ र किसान बिचको दुरि हटाउनु पर्छ ।