समाचारसहकारी

अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो ः कार्यकारी निर्देशक श्रेष्ठ

११ बुँदे साझा संकल्प जारी गर्दै सकियो सिईओ वर्कशप

काठमाडौं फागुन २५ नेपाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् । बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारीलाई स्वीकार गरिएपनि त्यो व्यवहारमा देखिएन ।’
अर्थतन्त्रमा सहकारीको ठ्याक्कै योगदान कति हो ? कहाँ कति सहयोग पुगेको छ ? भन्दै प्रतिप्रश्न गरे ।
उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउनुपर्ने हो तर परिणाममा नदेखिएको बताए । सहकारी संघ संस्थाहरुले समेत बैंकले जस्तै घरजग्गामा, धितोपत्र बजारमा लगानी गर्दा समस्या आएको उनको भनाई थियो ।
‘सहकारीको लगानीको प्राथमकिता प्राप्त क्षेत्र कुन हो ? सहकारीको मूल्य मान्यता बचतकर्तालाई झन् गरिब बनाउने भन्ने त होइन होला । कहाँ लगानी गर्दा सुरक्षित र अझ बढी उत्पादन मुखि हुन्छ संस्थाले त्यतातिर सोच्ने हो’, उनले भने । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मात्र होइन सहकारीको पैसा समेत सेयर बजारमा गएको हुनसक्ने आशंका कार्यकारी निर्देशक श्रेष्ठले व्यक्त गरे ।
सोही अबसरमा श्रेष्ठले कोभिडपछिको विश्व परिदृश्य रुस र युक्रेनबीचको युद्धले निम्त्याएको आर्थिक संकटले समेत नेपाली अर्थतन्त्र समस्यामा परेको बताए ।
पोस्ट कोभिडले इकोनोमी रिकभरी भए पनि रसियायुक्रेनको युद्धले असर गरेको उनको भनाइ छ । विश्व आयात निर्यातको चेनमा प्रभाव परी नेपालको आयात घट्दा राजस्व पनि गुमेको उनले बताए । तर रेमिट्यान्स, विदेशी लगानी आउन सके अर्थतन्त्र चलायमान हुने उनले बताए ।

सोही अवसरमा श्रेष्ठले पछिल्लो समय मुलुकको वित्तीय स्थितिपमा निक्षेपको वृद्धिदर बढेको तर कर्जाको वृद्धिदर घटेको बताए । यसले सहकारी क्षेत्र समेत प्रभावित हुन पुगेको उनको भनाइ छ ।
सहकारीमार्फत कृषिजन्य उत्पादन हुन नसकेको तर ऋण लिएर घरजग्गा र सेयर मार्केटमा लगानी गर्ने परिपाटी बढेको उनले बताए ।
सहकारीमा स्वःनियमन नभएकाले समस्या आएकाले केहीँ ऐन ल्याएर सहकारीको अनुगमन नियमन गर्नुपर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानाले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा कर्जा लगानी जोखिम बढेर गएको बताउँदै सहकारीले कर्जा सुरक्षण प्रणालीको विकास गर्नुपर्ने बताए ।
‘विश्वव्यापी मंहगीले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । सन् २०२३ मात्र होइन, २०२४ पनि निकै कठिन हुनेदेखिदैछ’ ढुंगानाले भने, ‘जुन देशको आफ्नै उत्पादन हुँदैन, ती देशलाई अझ बढी समस्या पर्ने जोखिमा देखिदैछ । हाम्रो अर्थतन्त्र माइनसमा जाने खतरा छ’ उनले भने ।
प्रत्यक्ष वैदेशिक लगानी र पैदेशिक सहायता (ऋण र अनुदान) पनि घट्दै गएकाले जोखिम अझै बढ्न सक्ने उनले संकेत गरे । सोही अवसरमा पूर्वसचिव ढुंगानाले साना तथा मझौला घरेलु उद्योगलाई ठूलो चुनौती रहेको बताए ।
सामाजिक सुरक्षाको खर्च बढ्दै जाँदा राज्यको दायित्व अझ बढेको तर यता ३७ प्रतिशत राजस्वमा कमी आएकाले राज्यलाई थप आर्थिक चाप परेको उनले बताए ।
मनिटरिङ पोलिसी र फिक्सल पोलिसीमा समेत एकरुपता नहुँदा समस्या आएको बताउँदै ढुंगानाले सरकारी खर्च र लगानीको स्रोत समेत खुम्चदै गएको बताए । जसले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य क्षीण बन्दै गएको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले संघ र राज्यको संयुक्त प्रयासबाट सहकारीमा सुशासन ल्याउने बताए । सहकारी संघ संस्थाहरुको नेतृत्वकर्ता व्यवस्थापकले सहि तरिकाले वित्तीय कारोबार गरे कुनैपनि संस्थामा समस्या नआउने उनले बताए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै रजिष्ट्रार नमराज घिमिरेले सहकारी संघ संस्थाहरु सदस्यमै केन्द्रीत भएमा समस्या समाधान हुने बताए । ‘सहकारीमा म केन्द्रित हुन थालेकाले समस्या आएको हो । अब सहकारीमा होइन सदस्यमा केन्द्रित हौं’ उनले भने, ‘सदस्य भइसकेपछि फाइदा र रिक्स दुबै वेहोर्नसक्नुपर्छ ।’
सोही अवसरमा रजिष्ट्रार घिमिरेले अस्वस्थ प्रतिष्पर्धाका कारण सहकारीहरुमा समस्या आइरहेको बताए । सहकारीले बैंकसँग नभएर आफुआफुमा नै प्रतिस्पर्धा गरेकाले समस्या आएको समेत उनले बताए ।
रजिष्ट्रारलाई सञ्चालक राखेर कर्जा सूचना केन्द्र सञ्चालन हुन नसक्ने बताउँदै उनले कर्जा असुली न्यायाधिकरण अत्यावश्यक भएकाले तत्काल गठन गर्नुपर्ने बताए ।
‘ऐन आफैमा ठूलो कुरा होइन, सरकारले ऐनलाई नियन्त्रण र अभियानले प्रवद्र्धनको रुपमा बुझ्नुपर्छ’ उनले भने ।

सुरक्षित सहकारी निमार्णका लागि व्यवस्थापकीय नेतृत्व प्रतिवद्ध
काठमाडौं फागुन २५ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तीहरुको प्रस्तुतीकरण थियो ।
कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । गोष्ठीमा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताप पारित गरेको छ ।
गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिईओहरुले गरेका छन् ।
त्यस्तै बाध्यकारी नियामकीय प्रबन्धहरु पुर्णरुपमा कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाएका छन् । जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गरेका थिए । साझा संकल्प वाचन गर्दै पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close